आजदेखि देश भरि वर्षाको मात्रा बढ्दै जाने र बिहीबारसम्म धेरै भारीसम्म वर्षा हुने सम्भावना
काठमाडौँ, ८ भदौ – आज देखि वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि वर्षाको मात्रा बढ्दै जाने र बिहीबारसम्म धेरै भारीसम्म वर्षा हुने भएको हो।
महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा पनि तराईभन्दा केही दक्षिण मात्र छ। जसले गर्दा केही दिन नेपालमा वर्षाको मात्रा बढ्ने भएको हो। अहिले पनि देशैभर मौसम बदली छ भने प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।

