बाढी प्रभावितलाई रेडक्रसले नगदसहित विभिन्न सहायता दिने
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई नगद सहायता, आवास र जीविकोपार्जन पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसका लागि रेडक्रस र नुवाकोटको विदुर नगरपालिकाबीच सहकार्य सम्झौता भएको छ।
सम्झौताअनुसार बेपत्ता व्यक्तिका परिवारका एकल महिला, अभिभावक गुमाएका बालबालिका तथा ज्येष्ठ नागरिक भएका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराइनेछ। यस्तै, दुई हजार घरधुरीलाई प्रतिपरिवार १५ हजार रुपैयाँ नगद सहायता दिइनेछ।रेडक्रसले एक हजार परिवारलाई जीविकोपार्जन सहायता, दुई हजार घरधुरीलाई घरभाडा भुक्तानी र ६ सय घरधुरीलाई अस्थायी आवासको व्यवस्था गर्ने जनाएको छ।
यस्तै, बाढीबाट क्षतिग्रस्त खानेपानी प्रणाली मर्मत तथा पुनःस्थापना गरी करिब ३० हजार जनसङ्ख्यालाई लाभान्वित गराउने लक्ष्य राखिएको छ। स्वास्थ्य सेवा, विद्यालय तथा अन्य पूर्वाधारको पुनःस्थापना र विपद् जोखिम न्यूनीकरणका कार्यक्रमसमेत सञ्चालन गरिने रेडक्रसले जनाएको छ।

