१८ दिनपछि सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालनमा
म्याग्दी । बाढीपहिरोका कारण बन्द भएको म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ। असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले कुण्डमा हिलो, बालुवा र गेग्रान थुपारेपछि स्नान सेवा बन्द गरिएको थियो। मुख्य पोखरीमा थुप्रिएको लेदो श्रमदानबाट हटाएर स्नानयोग्य बनाएपछि बुधबारदेखि कुण्ड सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिले जनाएको छ।
बाढीपहिरोबाट कुण्डका विभिन्न संरचनामा दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको समितिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो। पुनःनिर्माणका लागि एक हजार तीन सयभन्दा बढी स्थानीयवासी, सुरक्षाकर्मी र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले श्रमदान गरेका थिए।
कुण्डका अन्य पोखरी, कपडा फेर्ने भवन र तातोपानी भण्डारण गर्ने भवनसमेत क्षतिग्रस्त भएकाले मर्मत तथा पुनःनिर्माणका लागि सहयोग जुटाउने प्रयास भइरहेको छ। गत आर्थिक वर्षमा २१ हजारभन्दा बढीले स्नान गरेको यस कुण्डमा प्राकृतिक तातोपानीमा स्नान गर्न नेपालका विभिन्न जिल्ला तथा विदेशबाट समेत मानिस आउने गरेका छन्। कुण्डको पानीको तापक्रम करिब ५० डिग्री सेल्सियस रहेको छ।

