चैतको पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गराउने आयोगको तयारी
काठमाडौँ । निर्वाचन आयोगले आगामी चैतको पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गराउने गरी तयारी अघि बढाएको छ। आयोगले फागुन ३० देखि चैतको पहिलो सातासम्म निर्वाचन गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको छ। स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाख ५ गते सकिने भएकाले समयमै निर्वाचन गराउन आयोगले तयारी थालेको हो। निर्वाचनको मिति तय गर्दा कानुनी व्यवस्था, मौसम र भौगोलिक अवस्थालाई ध्यान दिइने आयोगले जनाएको छ।
आयोगका अनुसार निर्वाचनको मिति निर्धारणका विषयमा सरकार र राजनीतिक दलहरूसँग छलफल भइरहेको छ। स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्ने विषयमा पनि छलफल भए पनि त्यसबारे टुंगो लागिसकेको छैन। यसैबीच, निर्वाचन आयोगले अन्तरजिल्ला तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउने सम्भावनाबारे पनि अध्ययन गरिरहेको छ।
आयोगले अन्तरजिल्ला मतदानका लागि विद्युतीय मतदान मेसिन अर्थात् ईभीएम प्रयोग गर्ने प्रारम्भिक योजना अघि सारेको छ। त्यसका लागि सातै प्रदेशमा परीक्षण गर्ने तथा सम्भाव्यताका आधारमा विदेशस्थित केही नेपाली नियोगमा समेत परीक्षण गर्न सकिने विषयमा छलफल भइरहेको छ। विद्युतीय मतदानका लागि आवश्यक कानुनी व्यवस्था र प्राविधिक तयारीपछि मात्रै यसको प्रयोगबारे निर्णय गरिने आयोगले जनाएको छ।

