आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ। सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने तथा अन्य हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र लुम्बिनी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

