एमाले नयाँ नेतृत्वका लागि मतदान जारी, रातभर चल्ने
काठमाडौं, २ पुस – नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रिया जारी छ। काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान साढे ९ बजेदेखि मतदान सुरु भएको हो।
केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार मतदान प्रक्रिया रातभर निरन्तर चल्नेछ। उहाँले हाल प्रयोगमा ल्याइएका ८० वटा भोटिङ मेसिनमा कुनै प्राविधिक समस्या नदेखिएको जानकारी दिनुभयो।
‘मतदान सुरु भइसकेपछि रोकिन्न। मतदान रातभर चल्छ,’ पोखरेलले भन्नुभयो, ‘अहिलेसम्म प्रयोगमा रहेका सबै ८० वटा मेसिन सामान्य रूपमा सञ्चालनमा छन् र मतदान कार्य निरन्तर भइरहेको छ।’
मतदानका क्रममा केही प्रतिनिधिहरूलाई आफूले मतदान गर्नुपर्ने उम्मेदवार चिन्न समय लाग्दा असहज भएको र केही मतदाता असिनपसिन तथा बेहोससमेत भएको पोखरेलले बताउनुभयो। तर, बेहोस हुनेहरूको संख्या र पहिचान भने सार्वजनिक गरिएको छैन।
‘मतदाता आफ्नो मत हाल्नुपर्ने उम्मेदवार छनोट गर्न समय लिँदा केहीलाई असहज भएको देखिएको छ,’ उहाँले भन्नुभयो, ‘यस क्रममा केही जना फेन्टसमेत भएका छन्।’
यद्यपि, यस्ता घटनाका बाबजुद मतदान प्रक्रिया प्रभावित नभएको उहाँले स्पष्ट पार्नुभयो। अशक्त तथा बिरामी मतदातालाई आवश्यक सहयोग उपलब्ध गराउन स्वयंसेवक र मेडिकल टोली परिचालन गरिएको पनि उहाँले जानकारी दिनुभयो।

