आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
काठमाडौँ । आज नवरात्रको दोस्रो दिन, नौ दुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल द्वितीयाका दिन दशैँघर तथा पूजाकोठामा ब्रह्मचारिणी देवीको आह्वान गरी पूजा गर्ने धार्मिक परम्परा रहेको छ। नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने चलन छ। देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्ने गर्छन्।
नवरात्रमा देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। आइतबारदेखि नै विभिन्न शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ भने आज पनि देवीको दर्शन र पूजाआराधना गर्ने श्रद्धालुको भीड लागेको छ। नवरात्रमा गरिएको पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ।

