कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित हुनुभएको छ। खुला प्रतिस्पर्धातर्फ चन्द्र भण्डारीले तीन हजार सात सय ३५ मत प्राप्त गर्दै सबैभन्दा बढी मतसहित विजय हासिल गर्नुभएको छ। मधु आचार्य दुई हजार तीन सय ४२ मतसहित निर्वाचित हुनुभएको छ।

त्यस्तै, समावेशी उपसभापतिमा विनोद चौधरी एक हजार सात सय ४५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। खुला उपसभापतिका अन्य प्रतिस्पर्धीमध्ये गोविन्द भट्टराईले एक हजार सात सय ५२, सुरेन्द्रराज पाण्डेले एक हजार छ सय ७३, धनराज गुरुङले एक हजार पाँच सय ९६, दीपक गिरीले नौ सय २३ र चन्द्रमोहन यादवले सात सय ६० मत प्राप्त गर्नुभएको छ।

समावेशी उपसभापतिका प्रतिस्पर्धी जीवन परियारले एक हजार छ सय ५८, फरमुल्लाह मन्सुरले एक हजार एक सय ४४, सीता गुरुङले एक हजार एक सय १२ र रञ्जित कर्णले पाँच सय ६२ मत प्राप्त गर्नुभएको छ। यसअघि महिला उपसभापतिमा पुष्पा भुसाल र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भइसक्नुभएको थियो। यसैबीच, कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ।

Facebook Comments Box