बूढीगण्डकीमा बाढी : चार जना बेपत्ता, आधा दर्जन पुल बगायो

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिकामा बूढीगण्डकी नदीमा आएको बाढीमा परी चार जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोला किनारमा रहेका गोठमा बसेका चार जना सम्पर्कविहीन भएका हुन्। स्थानीय होटल व्यवसायी गोपाल लामाका अनुसार उनीहरू गोठमा रहेका बेला बाढी आएपछि सम्पर्कमा आउन सकेका छैनन्।

बाढीले आरुघाटको सोतीबाट मान्बु जोड्ने मोटरेबल पुल, धार्चे गाउँपालिकाको दोभानबाट हुल्चुक जोड्ने बेलिब्रिज, माछाखोला, ठाडो भर्‍याङ र खोर्लाबेँसीका झोलुङ्गे पुलसमेत बगाएको छ। गृहमन्त्री सुधन गुरुङले चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुलसमेत बाढीले बगाएको जानकारी दिनुभएको छ। घट्टेखोला क्षेत्रमा केही घरभित्र लेदोसहितको पानी पसेको र नदीको बहाव निरन्तर बढिरहेको उहाँले बताउनुभएको छ।

Facebook Comments Box