रियाद अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आक्रमण, १२ जनाको मृत्यु, ३०९ घाइते

साउदी  – साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्। साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार शनिबार राति भएको आक्रमणमा चार साउदी नागरिक, दुई बंगलादेशी तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक नागरिकको मृत्यु भएको हो।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ। आक्रमणबाट भएको भौतिक क्षतिको विवरण संकलन भइरहेको छ। पछिल्लो २० दिनमा रियाद विमानस्थलमा शनिबार चौथोपटक आक्रमण भएको हो। यसअघि बिहीबार हुथी समूहको आक्रमणमा एक पाइलटसहित कम्तीमा तीन साउदी नागरिकको मृत्यु भएको थियो।

अल जजिराका अनुसार शनिबारको आक्रमणको जिम्मा हुथी समूहले लिएको छैन। यद्यपि, इरानसमर्थित उक्त समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिएको छ। मक्का र मदिनाजस्ता पवित्र सहरमाथिको आकाशबाहेक साउदी क्षेत्रमा सञ्चालन हुने विमानलाई निसाना बनाउने चेतावनीसमेत समूहले दिएको छ।

Facebook Comments Box