आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान आसपास तथा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ । हाल कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली तथा अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकीका थोरै तथा मधेसका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज देशभर साधारणतया बदली रहनेछ । कोशी र बागमतीका हिमाली भू–भागका केही तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका केही तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
यस्तै, मधेससहित कोशी, बागमती र गण्डकीका तराई भू–भागका केही तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भागका साथै बागमती र गण्डकीका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

