एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
गोरखा, ५ भदौ – गोरखाको चुमभ्यालीमा किसानलाई यतिबेला गहुँ भित्र्याउन भ्याइनभ्याइ छ। तिब्बतको सीमासँग जोडिएको चुमनुब्री गाउँपालिका–७ का किसान गहुँ काट्ने, कुट्ने, केलाउने र थन्क्याउने काममा व्यस्त छन्। चुमभ्यालीको छेकम गाउँका दोर्जे लामाका अनुसार खेतीको काममा पुरुषले गहुँ काट्ने र कुट्ने तथा महिलाले केलाउने र थन्क्याउने गर्छन्। गहुँ भित्र्याएपछि केही दिनमै तोरी र फापर काट्ने तथा कुट्ने काम सुरु हुने उहाँले बताउनुभयो।
गत असोजमा रोपिएको गहुँ, फापर र तोरी अहिले भित्र्याउने समय भएको हो। चुमभ्यालीमा साउनको पहिलो सातादेखि गहुँ काट्न सुरु गरिएको छ। यहाँ बाली भित्र्याउनुअघि स्थानीय लामाबाट साइत जुराउने परम्परा छ। साइत जुराएर बाली भित्र्याएमा गाउँमा सहकाल रहने जनविश्वास रहेको स्थानीय प्रमुख लामा पासाङ फुञ्जोले बताउनुभयो।
चुमभ्यालीका सबै गाउँमा एकैपटक बाली भित्र्याउने चलन छैन। छेकम, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, पाङदुन, छुले र निलेका बासिन्दाले आलोपालो गरी बाली भित्र्याउने गरेका छन्। भौगोलिक रूपमा गाउँहरू एकअर्काबाट टाढा भए पनि स्थानीय बासिन्दा एकअर्काको खेतीमा सहयोग गर्न पुग्ने गर्छन्। कतिपय गाउँमा पुग्न चार घण्टासम्म पैदल हिँड्नुपर्ने भए पनि खेतीको समयमा गाउँलेहरू सामूहिक रूपमा काममा जुट्ने गरेका छन्।
अबको करिब एक महिनाभित्र चुमभ्यालीका सबै गाउँमा गहुँ, फापर र तोरी भित्र्याइसक्नुपर्नेछ। चुमनुब्री गाउँपालिका–७ को छेकम्पार चीनको स्वशासित क्षेत्र सिचाङको सीमाक्षेत्रमा तीन हजार तीन सयदेखि तीन हजार पाँच सय मिटरको उचाइमा अवस्थित छ। उच्च हिमाली क्षेत्रमा रहेको चुमभ्यालीमा गहुँ पाक्न करिब ११ महिना लाग्ने गर्छ।
“यहाँ गहुँ, फापर र आलु मात्र खेती गर्ने गरिन्छ। बारीमा गहुँ र फापर आलोपालो गरी बालीचक्र मिलाएर लगाउने चलन छ,” प्रमुख लामा फुञ्जोले भन्नुभयो। चुमभ्यालीमा वर्षमा एकपटक मात्र खेती हुने भएकाले ११ महिनामा उत्पादन भएको गहुँले स्थानीयको वर्षभरको आवश्यकता धान्ने गरेको छ। यहाँ उत्पादन हुने गहुँ र फापर गुणस्तरीय मानिने भएकाले काठमाडौँ तथा विदेशमा रहेका लामा गुरुहरूले समेत खरिद गर्ने गरेको उहाँले बताउनुभयो।
हिमाली भेगको परम्परागत खेती प्रणालीमा पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग पनि बढ्दै गएको छ। चुमभ्यालीका किसानले करिब एक दशकदेखि तिब्बती बजारबाट ल्याइएका मेसिनको प्रयोग गरी गहुँ काट्ने र कुट्ने गरेका छन्। चुमनुब्री गाउँपालिका–७ का वडाध्यक्ष टासी दोर्जे लामाका अनुसार चुमभ्यालीका अधिकांश घरमा गहुँ काट्ने तथा कुट्ने मेसिन रहेका छन्। मेसिनको प्रयोगले परम्परागत रूपमा धेरै समय लाग्ने खेतीको काम सहज र छिटो भएको स्थानीय किसान बताउँछन्।
चुमभ्यालीमा उत्पादन भएको गहुँ र फापर मुख्यतः ढिँडो बनाउन प्रयोग गरिन्छ। स्थानीयले गहुँबाट रोटी तथा चम्पासमेत बनाउने गरेका छन्। गहुँ याक र नाकका लागि दानाका रूपमा प्रयोग हुनुका साथै घरेलु मदिरा बनाउनसमेत प्रयोग हुने गरेको स्थानीयवासी बताउँछन्।

