पुरातत्व विभागका दुई कर्मचारीविरुद्ध ४ करोडभन्दा बढी बिगो दाबीसहित मुद्दा
काठमाडौँ, ९ वैशाख – अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार दुवैजनाविरुद्ध समान ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो।
अनुसन्धानका क्रममा निर्माण सेवासँग सम्बन्धित कम्पनी तथा संयुक्त उपक्रमका बैंक खाताबाट देउकला अधिकारीको खातामा रकम जम्मा गरिएको पाइएको छ। सोही घुस रकमबाट उनीहरूले संयुक्त रूपमा सम्पत्ति खरिद गरेको आयोगको दाबी छ।
आयोगका अनुसार निर्माण सेवा प्रालिले एकल वा संयुक्त उपक्रममार्फत पुरातत्व विभागसँग गरेको करिब ६४ करोड २१ लाख ८९ हजार रुपैयाँ बराबरको ठेक्कामा उनीहरूले ४ करोडभन्दा बढी घुस लिएको आरोप छ। भ्रष्टाचारबाट आर्जित रकम प्रयोग गरी आपसी मिलेमतोमा जग्गा तथा सुन खरिद गर्नुका साथै विभिन्न व्यक्तिलाई भुक्तानीसमेत गरिएको तथ्य अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

