राष्ट्रपति पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने

काठमाडौं, २६ चैत – रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ३ बजे संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ । कार्यालयका सचिव महादेव पन्थ ले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सम्बोधनका लागि सदस्यहरूको उपस्थिति आह्वान गरिएको जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । साथै, प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशनपछि संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान पनि रहेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चैत १९ गते सङ्घीय संसद् को अधिवेशन आह्वान गर्नुभएको थियो । सोही अधिवेशन सुरु भएको दोस्रो सातामा उहाँले संसद्लाई सम्बोधन गर्न लाग्नुभएको हो । सङ्घीय संसद् सचिवालयका अनुसार सम्बोधन सिंहदरबारस्थित बहुउद्देश्यीय सभाकक्ष मा हुनेछ । सभाकक्षमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी करिब ३३५ सिटको व्यवस्था गरिनेछ ।

यसपटक स्थान अभावका कारण विदेशी कूटनीतिक नियोगका प्रमुख, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट अतिथिको उपस्थिति रहने सम्भावना न्यून रहेको सचिवालयका प्रवक्ता एकराम गिरी ले जानकारी दिनुभयो ।

Facebook Comments Box