पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने सडकखण्ड भासियाे

पोखरा, १२ असार – पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो । अविरल वर्षाले सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारी साधनसमेत प्रभावित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले सडक अहिले एकतर्फी खुलाइएको जानकारी दिए । सडकको दायाँ भाग अन्दाजी ५ मिटर लम्बाई, र १.५ मिटर चौडाइ सडक घट्टे कुलोको पानीले काटेर भत्काएको प्रहरीले जनाएको छ ।

उक्त स्थानदेखि करिब १० मिटर अगाडिको सडक खण्डमा दायाँतर्फको करिब ७ मिटर लम्बाइ र करिब १ मिटर चौडाइ भासिएको शर्माले बताए । ‘सडक मर्मत गरेर खुलाउने प्रयास भइरहेको छ । कुनै मानवीय क्षति छैन’, उनले भने । गत २४ घन्टामा पोखराको लामापाटन जल मापन केन्द्रमा १३४.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

२४ घन्टाको अवधिभित्र १२० मिलिमिटर वर्षा भएमा त्यसले क्षति पुर्‍याउने जोखिम रहन्छ । २ दिनअघिमात्रै पोखराकै जिरोकिलोमिटरमा पनि सडक भासिएको थियो । पोखरामा सामान्य वर्षामै पनि जमिन भासिने समस्या व्यहोर्दै आएको छ । पोखराको माटो चुनयुक्त भएको र पानीसँग घुलेर जाँदा जमिन भासिने गरेको विज्ञहरुले बताउँदै आएका छन् ।

Facebook Comments Box