एघार महिनामा ६ हजारभन्दा बढी विपद्का घटना

काठमाडौँ, १ चैत – गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार ११ महिनामा भएका विपद्का घटनामा परेर ४६४ जनाको मृत्यु भएको छ।

प्राधिकरणका अनुसार उक्त अवधिमा ३८ जना बेपत्ता भएका छन् भने एक हजार ८१४ जना घाइते भएका छन्। विपद्का कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको विवरणमा उल्लेख गरिएको छ। प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन्। कुल तीन हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ।

त्यस्तै, सो अवधिमा बाढीका ३१८, पहिरोका ५९०, भारी वर्षाका ४२९, चट्याङका ३६७, सर्पदंशका ५९२ र डढेलोका २४६ घटना भएका छन्। यसका साथै हावाहुरीका २९२, जनावरको आक्रमणका ४८८ र लेक लाग्ने (उचाइजन्य समस्या) का ११९ घटना भएका छन्।

त्यसैगरी हिमपहिरोका पाँच, भूकम्पका सात र डुङ्गा पल्टेका दुईवटा घटना पनि घटेका छन्। प्राधिकरणका अनुसार फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म मात्र २९ वटा विपद्का घटना भएको विवरण छ।

Facebook Comments Box