सुनसरीमा किसानलाई सिँचाइको समस्या

सुनसरी, १ चैत – सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका किसान सिँचाइ अभावका कारण समस्यामा परेका छन्। इनरुवा सदरमुकामसहित भोक्राहा, हरिनगरलगायत स्थानीय तहमा खेती गरेका किसानलाई पानीको अभाव भएको हो।

किसानका अनुसार सप्तकोसी नदी को जलसतह घटेका कारण नहरमा पर्याप्त पानी नआउँदा सिँचाइ गर्न समस्या भइरहेको छ। इनरुवा–६ का किसान देवनारायण यादव ले नहरमा पानी नहुँदा सात बिघा क्षेत्रफलमा लगाएको मकैबाली सिँचाइ गर्न कठिन भएको बताउनुभयो। उहाँका अनुसार करिब रु तीन लाख ५० हजार लागतमा गरिएको खेती अहिले सिँचाइ अभावका कारण सुक्ने अवस्थामा पुगेको छ।

स्थानीय किसान माधव भण्डारी का अनुसार नहरको पानीको भरोसामा मकै र गहुँखेती गरिएको भए पनि आवश्यक समयमा पानी नआउँदा किसान मारमा परेका छन्। शङ्करपुर शाखा नहरबाट पालो प्रणालीमा मात्र पानी आउने भएकाले पर्याप्त सिँचाइ गर्न नसकिएको उनीहरूको गुनासो छ।

सिँचाइ अभावका कारण हजारौँ हेक्टरमा लगाइएको मकै, गहुँ र तरकारी बाली सुक्न थालेपछि किसानले शङ्करपुर शाखा नहरमा पर्याप्त पानी उपलब्ध गराउन माग गरेका छन्। कृषि ज्ञान केन्द्र इनरुवा का प्रमुख निलकमल सिंह का अनुसार यस वर्ष सुनसरी जिल्लामा १२ हजार ६३ हेक्टर क्षेत्रफलमा गहुँखेती र सात हजार ५२० हेक्टर क्षेत्रफलमा मकैखेती गरिएको छ।

Facebook Comments Box