समाचारको अनुगमन भइरहेको छ, आचारसंहिता कडाइकासाथ लागू गर्छौँः आयुक्त भण्डारी
भक्तपुर, २३ माघ – निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा समाचार बनाउँदा कुनै पक्ष वा विपक्ष नरही निष्पक्ष समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सञ्चार माध्यमले एकतर्फी वा एकपक्षीय ढङ्गले कुनै उम्मेदवारलाई प्रभाव पर्ने गरी समाचार वा विचार व्यक्त नगर्न आग्रह गर्नुभयो।
देशभर निर्वाचनमय वातावरण बनिरहेको र निर्वाचनको अन्तिम चरण नजिकिँदै गर्दा समाचार मात्र होइन, विचार सम्प्रेषण गर्दा पनि पक्ष वा विपक्ष नगर्न उहाँले जोड दिनुभयो।
उहाँले भन्नुभयो, “सञ्चार माध्यममा तपाईंहरूले विचार सम्प्रेषण गर्दा सबैको आ–आफ्नो मौलिकता र धारणा हुन्छ, तर ती विचार व्यक्त गर्दा कुनै दल, व्यक्ति वा उम्मेदवारको पक्ष वा विपक्षमा गर्न पाइँदैन। त्यसैले समाचार सत्यतथ्यमा आधारित भएर मात्र सम्प्रेषण गर्न आग्रह गर्दछु।”
आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीमाथि छानबिन र कारबाही अघि बढाइएको जानकारी दिँदै उहाँले आचारसंहिता लागू भए वा भएन, त्यसको पालना भयो वा भएन भन्ने विषयमा विभिन्न तहबाट अनुगमन भइरहेको बताउनुभयो।
आयोगले आचारसंहिता उल्लङ्घनको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै आयुक्त भण्डारीले निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको पनि जानकारी दिनुभयो।

