आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
काठमाडौँ, २३ माघ – आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तर्राष्ट्रिय शून्य सहनशीलता दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २०१२ मा प्रत्येक वर्ष फेब्रुअरी ६ तारिखलाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको हो। यस दिवसको उद्देश्य महिला यौनाङ्गछेदनको अन्त्यका लागि भइरहेको प्रयासलाई अझ प्रभावकारी बनाउनु हो।
राष्ट्रसङ्घका अनुसार हाल विश्वभर २३ करोडभन्दा बढी महिला र किशोरी यस हानिकारक अभ्यासको सिकार भइसकेका छन्। प्रत्येक वर्ष करिब ४० लाख किशोरी यौनाङ्गछेदनको पीडामा पर्छन् भने २० लाखभन्दा बढी पाँच वर्ष उमेर नपुग्दै यसबाट गुज्रिन बाध्य छन्।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले महिला र किशोरीका अधिकार सुरक्षित गर्न सबै देशलाई आह्वान गर्दै भन्नुभएको छ, “महिला र किशोरीहरू हिंसा र डरबाट मुक्त भएर बाँच्न पाउनुपर्छ। सँगै मिलेर हामी यो अन्याय सदाका लागि अन्त्य गर्न सक्छौँ।” यसैगरी, राष्ट्रसङ्घीय जनसङ्ख्या र बालकोषले पनि विश्व समुदायलाई महिला, किशोरी र बालिकालाई यौनाङ्गछेदनबाट मुक्त जीवन बाँच्न सुनिश्चित गर्न आवश्यक कदम चाल्न आह्वान गरेको छ।

