दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन
काठमाडौँ, २२ माघ ।- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ ।
विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बजारमा अनावश्यक मूल्यवृद्धि नियन्त्रण गरी प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न यस्तो निर्देशन दिएको जनाएको छ । विज्ञप्तिमा खाद्यान्न तथा खानेतेलका प्रमुख उत्पादक, पैठारीकर्ता र वितरकलाई बोलाई अनुचित नाफा नलिई वस्तु तथा सेवा उपलब्ध गराउन र अस्वाभाविक मूल्यवृद्धि समायोजन गरी उपभोक्तालाई राहत दिन आग्रह गरिएको उल्लेख छ ।
पछिल्लो समय खानेतेल, ग्यास, चामललगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि र आपूर्तिमा कमी आएको भन्दै उपभोक्ता तह तथा सार्वजनिक सञ्चारमाध्यमबाट गुनासो बढेपछि विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न विभाग निरन्तर प्रतिबद्ध रहेको बताइएको छ । सोही उद्देश्यअनुसार अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता तथा सेवाप्रदायक फर्म र प्रतिष्ठानहरूमा अन्य सम्बन्धित निकायको सहयोगमा संयुक्त अनुगमन कार्य भइरहेको विभागले जनाएको छ ।

