झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि फागुन ४ सम्मः पुरस्कार राशि रू १५ लाख पुर्याइयो
बनियानी, १७ माघ – झापा गोल्डकपको सातौँ संस्करणको मुख्य प्रायोजन ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’ले गर्ने भएको छ । झापा गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित सातौँ संस्करणका लागि एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’ र झापा गोल्डकपबीच शुक्रबार सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा झापा गोल्डकपका अध्यक्ष केदार गिरी र एग्रो थाई फुड्सका कन्ट्री म्यानेजर पवन श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा यही माघ २४ गतेदेखि सुरु हुने प्रतियोगिता आगामी फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । यस संस्करणमा पुरस्कार राशि वृद्धि गरी प्रथम पुरस्कार रू १५ लाख र द्वितीय पुरस्कार रू सात लाख ५० हजार नगद बनाइएको आयोजकले जनाएको छ ।
विधागत पुरस्कारतर्फ ‘मस्ट भ्यालुएबल प्लेयर’लाई एक थान मोटरसाइकल प्रदान गरिने छ । यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही रू ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगद रू २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी १० प्रतिष्ठित टोलीको सहभागिता रहने छ । नेपालबाट आयोजक झापा ११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी तथा लालीगुराँस एसोसिएसन नेपाल (पोखरा) सहभागी हुनेछन् ।
अन्तर्राष्ट्रिय टोलीतर्फ रोयल थिम्पु कलेज (भुटान), सिङ्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ एफसी (मलेसिया) ले सहभागिता जनाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब रू एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगितामा करिब ५० हजार दर्शकको प्रत्यक्ष सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रतियोगिताअन्तर्गत झापा जिल्लाका एक जना पुराना फुटबल खेलाडी तथा रङ्गशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई जनही रू २५ हजारका दरले सम्मान तथा सहयोग प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । विधागत पुरस्कारको सौजन्य अमेरिका निवासी रोशनलाल श्रेष्ठको समूहले गर्ने जनाएको छ ।

