९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानी धारा निर्माण

भोजपुर, २९ पुस – भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गर्नुभएको छ। भोजपुर–८ पोखरे निवासी प्रधानले आफ्नी श्रीमती रुपछिमीको स्मृतिमा रु दुई लाख खर्च गरी सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेपानी धारा निर्माण गर्नुका साथै पाँच हजार लिटर क्षमताको ट्याङ्कीको व्यवस्था गर्नुभएको हो।

निर्माण सम्पन्न भएपछि प्रधानले धारा र ट्याङ्की विद्यालयका प्रधानाध्यापक शरणकुमार राईलाई हस्तान्तरण गर्नुभयो। स्वच्छ खानेपानी विद्यार्थीको अधिकार भएकाले सामाजिक उत्तरदायित्वका रूपमा आफूले धारा निर्माण गरिदिएको प्रधानले बताउनुभयो। धाराको उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गोपाल कार्की र निर्माणकर्ता उजिरबहादुर प्रधानले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो।

सोही अवसरमा विद्यालयका पूर्वविद्यार्थी डा. विनोद पराजुलीले सहयोग गर्नुभएको रु २० हजारबाट विद्यालयका विद्यार्थीलाई नेपाली टोपी वितरण गरिएको प्रधानाध्यापक राईले जानकारी दिनुभयो। कार्यक्रममा विद्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक खोमराज धमलाको समेत उपस्थिति रहेको थियो।

Facebook Comments Box