अलैँची उत्पादन बढाउन किसानलाई सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता
झापा, १४ भदौ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अलैँचीको उत्पादन वृद्धि र व्यवसाय प्रवर्द्धनका लागि प्रदेश सरकारले नीतिगत तथा वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाल अलैँची व्यवसायी महासङ्घको विर्तामोडमा आज सम्पन्न पाँचौँ महाधिवेशनमा मुख्यमन्त्री कार्कीले अलैँचीको नर्सरीदेखि बजार विस्तारसम्म सहयोग हुने स्पष्ट पार्दै प्रदेश सरकारले स्रोतसाधन जुटाउने बताउनुभयो ।
उहाँले साना तथा मझौला व्यवसाय प्रवर्द्धन र उद्यमशीलता विकासका लागि स्वीस सरकारको सहकार्यमा ‘उदय’ परियोजना सञ्चालन गरिएको जानकारी दिनुभयो । “रु ३० लाखदेखि तीन करोडसम्म साना तथा मझौला उद्योगमा लगानी गर्दैछौँ,” उहाँले भन्नुभयो ।
मुख्यमन्त्री कार्कीले अलैँची, चिया, बाँस, दुग्ध पदार्थलगायतका क्षेत्रलाई उत्पादन र बजार विस्तारका दृष्टिले महत्वपूर्ण ठहर गर्दै ती क्षेत्रमा प्रदेश सरकारले प्राथमिकता दिने बताउनुभयो । साथै, चियाको केन्द्रीय कार्यालय काठमाडौँमा सीमित नराखी उत्पादन क्षेत्रमै सार्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
महासङ्घका अध्यक्ष निर्मला भट्टराईले वार्षिक सातदेखि १० अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात हुने गरेको जानकारी दिनुभयो । उहाँले भोजपुर र सङ्खुवासभालाई समेटेर अलैँची ‘सुपरजोन’ स्थापना गर्न सरकारसँग आग्रह गर्नुभयो ।
महाधिवेशनमा १६ जिल्लाका प्रतिनिधिहरूको सहभागिता रह्यो । कार्यक्रममा उत्कृष्ट निर्यातकर्ता, उत्कृष्ट किसान र उत्कृष्ट कर्मचारीलाई सम्मानित गरिएको थियो ।

