निर्वाचनका क्रममा सत्ता गठबन्धनले तीन चरणमा धाँधली गर्याे : नेकपा एमाले
काठमाडौं, १ जेठ – नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले तीन चरणमा धाँधली गरेको आरोप लगाएको छ । एमालेले एक विज्ञप्तिमार्फत निर्वाचन हुनु पहिला, मतदानका समयमा र अहिले आएर मतगणनाको समयमा पनि धाँधली गरेको आरोप लगाएको हो ।
सत्ता गठबन्धनबाट एमालेविरुद्ध मोर्चाबन्दी गरिएको भन्दै एमालेले त्यसका बाबजूद पार्टी निर्वाचनमा उभिएको जनाएको छ । मोर्चाबन्दीले नपुुगेर धाँधलीमा उत्रेको भन्दै एमालेले ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको दाबीसहित यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग समेत गरेको छ ।
विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका सहारा लिएको एमालेले आरोप लगाएको छ ।
एमालेले यसरी सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको भन्दै एमालेले निर्वाचन आयोगलाई आचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरूको निरन्तर आचारसंहिता विपरीत कार्यप्रति खेद व्यक्त गरेको छ ।
निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भएको पनि एमालेको भनाइ छ । ‘मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको निम्न कार्यप्रति नेकपा (एमाले) खेद व्यक्त गर्दछ’, महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

