झापाको बिजनेस टावरमा सर्वसाधारणको आकर्षण

दमक, ७ साउन – दमक नगरपालिका–३ दापगाँछीमा निर्माण गरिएको ‘बिजनेस टावर’ सर्वसाधारणका लागि खुला गरिएपछि आन्तरिक पर्यटकको उल्लेखनीय आकर्षण देखिएको छ। साउन १ गतेदेखि सर्वसाधारणका लागि खोलिएको यो संरचना हेर्न हजारौँको सङ्ख्यामा अवलोकनकर्ताहरू पुगेका छन्।

दमक नगरपालिका–३ का वडाध्यक्ष नविन बरालका अनुसार, टावर खुला भएपछि घुम्न, फोटो र भिडियो खिच्न आउने मानिसहरूको चहलपहल उल्लेखनीय रूपमा बढेको छ। “पहिले पनि मानिसहरू आउँथे,” वडाध्यक्ष बरालले भन्नुभयो, “तर अहिले टावरको टुप्पासम्म चढेर टाढासम्मको दृश्यावलोकन गर्न पर्यटक झुम्मिन थालेका छन्।”

सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रशासन अधिकृत उमेश खनालका अनुसार, साउन ६ गतेसम्म दुई हजार एक सय ४५ जनाले टावर अवलोकन गरिसकेका छन्। टावर प्रवेशको लागि प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क तोकिएको छ। साउन १ गते ४३८, साउन २ गते ३८४, साउन ३ गते ४८१, साउन ४ गते २७९, साउन ५ गते २९० र साउन ६ गते २७३ जनाले अवलोकन गरेका छन्।

एक अर्ब ४५ करोड रुपैयाँ लागतमा बनेको ‘बिजनेस टावर’को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर २३ गते गर्नुभएको थियो। टावर हाल बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि खुला छ। टावरको १६ तलासम्म चढ्न दुई वटा विद्युतीय लिफ्ट प्रयोगमा छन्।

टावर सञ्चालनका लागि हाल सघन सहरी तथा भवन निर्माण आयोजना झापालाई जिम्मेवारी दिइएको छ। कार्यालयले खनालको नेतृत्वमा १० जना कर्मचारी परिचालन गरेको छ। यद्यपि सरकारले विशेष संरचनाको सञ्चालनका लागि विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन गरिसकेको छ र कार्यकारी निर्देशकको नियुक्तिका लागि विज्ञापनसमेत आह्वान गरिसकेको छ।

आन्तरिक पर्यटकको चापसँगै टावर वरपरको व्यापार पनि विस्तार हुन थालेको छ। दृश्यावलोकन गर्न आउने पर्यटकले खाना, खाजाका रेस्टुराँ र साना पसलको कारोबारमा सकारात्मक असर पारेका छन्।

Facebook Comments Box