देशभर मनसुनी प्रभाव : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ६ साउन – देशभर मनसुनी वायुको सक्रियताका कारण अहिले अधिकांश क्षेत्रमा मौसम बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेकाले आज दिनभर देशका धेरै भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित पहाडी भू–भागका केही स्थान र अन्य स्थानका थोरै भागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । यिनै तीन प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली हुने र कोशी, मधेस, बागमती, गण्डकी प्रदेश तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ । महाशाखाले सतर्कता अपनाउन अनुरोध गर्दै भारी वर्षाका कारण पहिरो, बाढी तथा सडक अवरुद्ध हुने जोखिम रहेको जानकारी गराएको छ ।

Facebook Comments Box