बेनी–अर्थुङ्गे–पुलाचौर सडक : बेनी–पुरुण्डी खण्ड पक्की, यात्रा सहज
म्याग्दी, ६ साउन – म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट पुरुण्डीसम्मको खण्ड पक्की गरिएको छ । यसले बेनी नगरपालिका–५ र ६ तथा मङ्गला गाउँपालिका–१ का बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने काम गरेको छ । बेनी नगरपालिका प्रमुख सुरत केसीका अनुसार बेनी–६ हुँदै अर्थुङ्गे, बाँसबोट, एकपाटे, अवेचौर हुँदै पुरुण्डीसम्मको करिब ६ किलोमिटर सडक खण्ड ढलान तथा कालोपत्र गरेर पक्की बनाइएको हो ।
उहाँले भन्नुभयो, “यो सडक बेनी नगरपालिकाको प्राथमिकतामा परेको योजनामध्ये एक हो । अहिलेको आर्थिक वर्ष २०८२/८३ मा पुरुण्डीबाट पुलाचौरसम्मको सडक स्तरोन्नतिका लागि १ करोड ६२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।” गत आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले दुईवटा योजना सञ्चालन गरेको थियो । त्यस अन्तर्गत बेनीदेखि बाँसबोटसम्म ढलान तथा कालोपत्र सम्पन्न भइसकेको छ ।
प्राविधिक मिलन केसीका अनुसार, ६२ लाख ६७ हजार रुपैयाँ लागतमा एकपाटे र अवेचौर क्षेत्रमा ४२६ मिटर प्रिमिक्स कालोपत्र, १३० मिटर ढलान र १९० मिटर पक्की नाली निर्माण गरिएको छ । त्यस्तै, सडक बोर्डको कार्यक्रमअन्तर्गत ६८ लाख ७९ हजार रुपैयाँ लागतमा पुरुण्डी खण्डमा २३२ मिटर ढलान, १५० मिटर पक्की नाली र पर्खाल निर्माण सकिएको छ भने ७२ मिटर प्रिमिक्स कालोपत्र कार्य बाँकी छ ।
सडक ढलान र कालोपत्र अघि सडक फराकिलो बनाउने काम पनि सम्पन्न गरिएको छ । पहिले चार मिटर चौडाइमा रहेको सडक अहिले सात मिटरको अनुपातमा विस्तार गरिएको हो । एकपाटेका स्थानीय विष्णुदत्त शर्माले करिब दुई दशकपछि सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको अनुभव सुनाउनुभयो । “पहिला बेनी आउन ४० मिनेट लाग्थ्यो, अहिले १० मिनेटमै पुगिन्छ । हिलो, धुलो र जोखिमबाट मुक्त भएर यात्रा गर्न पाउँदा खुसी छौँ,” उहाँले भन्नुभयो ।
सडक सञ्चालनमा आएसँगै स्थानीयवासीले नियमित यातायात सेवा र उपयुक्त भाडादरको माग गरेका छन् । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी नयाँ आर्थिक वर्षको सुरुबाटै नयाँ भाडादर लागू गरिएको नगरपालिकाले जनाएको छ ।

