भोटेकोशीको बाढीले रसुवागढी हाइड्रोपावरमा क्षति, कर्मचारीहरू जंगलमा आश्रय
काठमाडौँ, २४ असार – भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। ड्याम र क्याम्प बगाएको बाढीले आयोजनाका कर्मचारीहरूलाई समेत जोखिममा पारेको छ। आयोजनाको प्रशासन प्रमुख टिकनाथ पौडेलका अनुसार क्याम्प बगाएपछि कर्मचारीहरू ज्यान जोगाउन जंगलतर्फ भागेका छन्।
“हाइड्रोपावरमा ठूलो क्षति भएको अनुमान छ, गाडीहरू समेत बगेका छन्,” उनले भने, “साथीहरू ‘अडिट टु’ भनिने जंगल क्षेत्रमा गएर बसेका छन्।” प्रमुख पौडेलका अनुसार हाल क्याम्पमा रहेका २५–३० जना कर्मचारी, जसमा दुई महिला पनि छन्, उनीहरूको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको छ। यद्यपि आयोजनाको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको जानकारी दिएका छन्। बाढीले निम्त्याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
Facebook Comments Box

