काठमाडौं उपत्यकामा सोमबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं, १६ पुस – काठमाडौं उपत्यकामा सोमबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । काठमाडौंको नेपालटारमा सोमबार राति साढे ९ बजे बा९७प ६५४९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा संखुवासभाको चैनपुर घर भई हाल बौद्ध बस्ने ३३ वर्षीय कमल राई छन् । उनको उपचारको क्रममा राति १० बजेर २० मिनेटमा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक संखुवासभा चैनपुरकै २६ वर्षीय सुभम राई घाइते छन् । उनको टाउको र दायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यसैगरी सोमबार राति नै ललितपुरको भैंसीपाटीमा यात्रुबाहक माइक्रोबसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बा३ख ३१०२ नम्बरको माइक्रो बस बिजुलीको पोलमा ठोक्किएर अनियन्त्रित भई बाटो किनारमा हिँडिरहेकी ३५ वर्षीया गोमा लुंगेलीलाई ठक्कर दिएको थियो ।
ललितपुरको मगरगाउँ बस्ने गोमाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो माइक्रो बस बिजुलीको पोलमा ठोक्किएर अनियन्त्रित हुँदा रोकिराखेको बोलेरो गाडि र एउटा पसलमा समेत क्षति पुगेको छ ।

