सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीकी श्रीमती भ्रष्टाचारी ठहर

काठमाडौँ, २७ असार – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारी भ्रष्टाचारी ठहर भएकी छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासबाट नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको अभियोगमा उनी दोषी ठहर भएकी हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले फैसला सुनाउँदै बिहीबार उनलाई दोषी ठहर गरेको हो। उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय पनि अदालतले सुनाएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी राहत शिक्षिका गीताले भारतबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेकी थिइन्।

बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्लीबाट १० कक्षा अध्ययन गरेको भनी उनले पेस गरेको प्रमाणपत्र नक्कली देखिएको छ। अख्तियारले २०७९ असोज ६ गते गीता सोडारीविरूद्ध मुद्दा दायर गरेको थियो।

Facebook Comments Box