गुल्मीको रुरुक्षेत्रमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु , १२ जना घाइते

काठमाडौँ, ४ जेठ – बिहीबार साँझ गुल्मीको रुरुक्षेत्रमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पोखराबाट गुल्मीको तम्घास तर्फ जाँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ मक्वादीस्थित रिडी–तम्घास खडमा दुर्घटनामा परेको गुल्मीका एसपी राजन भुजेलले जानकारी दिए।

‘दुर्घटनामा बसका सहचालक जुम्ला घर भएका ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको छ,’ एसपी भुजेलले  भने, ‘चालकसहित १२ जना घाइते छन्। त्यसमध्ये स्याङजा घर भएका चालक २८ वर्षीय मनोज बस्यालको अवस्था गम्भीर छ। पाँच जना घाइते आज (शुक्रबार) बिहान डिस्चार्ज भएका छन्। अरुकाे उपचार चलिरहेकाे छ।’

बसमा चालक र सहचालकसहित १३ जनामात्रै सवार थिए। घाइते सबैको पाल्पामै उपचार भइरहेको एसपी भुजेलले बताए। बस सडकबाट झण्डै ६० मिटर तल खसेको छ। बस दुर्घटनाको कारण खुलेको छैन। तीव्र गतिको कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

Facebook Comments Box