सर्लाहीमा मङ्गलबार राति तीन फरक स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौँ, २ जेठ – सर्लाहीमा मङ्गलबार राति तीन फरक स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । बयलवास–बबरगन्ज सडकखण्ड अन्तर्गत चन्द्रनगर गाउँपालिका–२, पर्ती बजार नजिक रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।
ज १ त ५१९० नम्बरको ट्याक्टरमा दक्षिणतर्फबाट आइरहेको प्रदेश–२–०३–०२१ प ११६८ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक ईश्वरपुर नगरपालिका–१०, बेलाका २९ वर्षीय सन्जित कुमार साहको घटनास्थलमै मृत्यु भएको हो ।अगाडिबाट आएको स्कारपियो गाडीको बत्तीका कारण मोटरसाइकल चालक साहले राम्रोसँग आँखा नदेख्दा ट्याक्टरमा गएर ठोक्किएको हुनसक्ने आशङ्का गरिएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहनुभएका साह केही दिनअघि मात्रै छुट्टीमा घर आउनुभएको थियो । यस्तै जिल्लाको बरहथवा नगरपालिका–१४, लालदियरमा बा ४० प ८९९५ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।
दुर्घटनामा साइकल यात्री बरहथवा–१४, का ५५ वर्षीय हरिनारायण महतो, उहाँको नाति दुई वर्षीय आकाश महतो, मोटरसाइकल चालक बरहथवा नगरपालिका–१२, बस्ने २१ वर्षीय रुपचन राम र पछाडि सवार २४ वर्षीय शिवेक कुमार महतो घाइते भएका हुन् ।
घाइते चारै जनाको जनजीवन अस्पताल बरहथवामा उपचार चलिरहेको छ । त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा बर्दिवासबाट फूलजोरतर्फ आइरहेको प्रदेश २–०३–००१ च ४००८ नम्बरको खाली पिक अप तीव्र गतिका कारण अनियन्त्रित भई पल्टिँदा चालक र सहचालक घाइते भएका छन् ।
दुर्घटनामा घाइते पिक अप चालक सिन्धुलीको दुधौली नगरपालिका–४, डकहा बस्ने २३ वर्षीय शान्तिप्रसाद तिमल्सिना र सहचालक सोही ठाउँका १९ वर्षीय रोहन लामिछानेको मोडेल अस्पताल लालबन्दी उपचार चलिरहेको प्रहरीले जनाएको छ ।