प्रख्यात् बालसाहित्यकार शान्तदास मानन्धरको आज अन्त्येष्टि गरिँदै
काठमाडौँ, २९ कात्तिक – प्रख्यात् बालसाहित्यकार शान्तदास मानन्धरको आज अन्त्येष्टि गरिँदै छ। मंगलबार ९० वर्षको उमेरमा निधन भएका उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको हो।
बिहान ११ बजे पशुपतिको विद्युतीय शवदाहगृहअगाडि बौद्ध परम्पराअनुसार पूजा गरिने र त्यहीँ १२ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि शव राखिने मानन्धरका ज्वाइँ रामकृष्ण डंगोलले नेपालखबरलाई बताए। त्यसपछि विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिनेछ।
हर्नियाको समस्या देखिएर अस्पताल लगिएका उनको मंगलबार दिउँसो १ बजे मृत्यु भएको थियो। उनलाई कात्तिक २० गतेदेखि उनी बल्खुस्थित एक अस्पतालमा उपचाररत थिए।
काठमाडौँको झोँछेँमा १९९१ जेठ शुक्ल दशमीमा जन्मिएका मानन्धरलाई बाल साहित्यको विकास, विस्तार तथा प्रवर्धनमा पाँच दशकदेखि निरन्तर समर्पित रहेवापत् २०७५ मा ‘जगदम्बाश्री’ सम्मान प्रदान गरिएको थियो। यो सम्मान मदनपुरस्कार गुठीले प्रदान गर्छ।
नेपालीमा बाल साहित्यको खडेरी रहेको र हेयका रुपमा हेरिने समयमा मानन्धरले विदेशी लेखकका धेरै सामग्री अनुवाद गरेर पनि त्यसको पुड्ताल गरेका थिए। रुम टु रिडसँगको सहकार्यमा मात्र उनले १ सय ५० भन्दा बढी कृति अनुवाद र सम्पादन गरेका छन्।