समानुपातिकमा भेटिएका प्रत्यक्षको मत जोडेर पाँचथरको नतिजा सार्जजनिक, नेम्वाङ विजयी

काठमाडौँ, १४ मङ्सिर – पाँचथरको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको बाकसमा भेटिएपछि विवादित बनेको यहाँको मतगणना मंगलबार राति सकिएको निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिए।

अन्तिम मतपरिणाममा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४६ मतान्तरले पराजित गर्दै नेकपा एमालेका वसन्तकुमार नेम्वाङ विजयी भएका छन्। नेम्वाङले ३२ हजार १ सय ३५ मत प्राप्त गर्दा आङ्देम्बेलाई ३२ हजार ८९ मत प्राप्त गरेको आयोगले उल्लेख गरेको छ।

यसअघि गत ९ मंसिरमा नै यहाँको प्रत्यक्षतर्फको मतगणना सकिएको थियो। त्यतिबेला नेम्वाङको मत ३२ हजार १ सय १० र आङ्देम्बेको ३२ हजार ६३ थियो। बाकसमा भेटिएका मतमध्ये २६ मत रुखमा र २५ मत सूर्यमा पाइएको छ। वसन्तको विजयको अन्तर भने ४७ बाट घटेर ४६ मा झरेको छ।

नेम्वाङले विजय उत्सव मनाइसकेपछि समानुपानितकका मतपेटिकामा प्रत्यक्षतर्फकै मतपत्र भेटिन थालेपछि विवाद हुँदा मत गणना प्रभावित हुँदै आएको थियो। समानुपातिकतर्फको गणना सक्दा ती पेटिकामा भेटिएका मतपत्रसमेत जोडेर नतिजा सार्वजनिक गरिएको निर्वाचन अधिकृत दाहालले बताए।

Facebook Comments Box