आज जमरा राखिंदै, सुरु भयो बडादसैं
काठमाडौं, १० असोज – विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ-आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैं पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।
यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रुपमा समेत प्रयोग गरिन्छ । जमराको जुस विभिन्न रोगमा औषधिको रुपमा सेवन गर्ने गरिएको छ ।
घटस्थापनाको साइत बिहान १० : २३ बजे
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान १० : २३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको उनले बताए । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ ।
महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।
विजयादशमीको साइत असोज १९ गते ११ : ५१ बजे
नवरात्र भनेर समेत चिनिने दशैँ नौ रात र दश दिनको हुन्छ । कुनै वर्ष तिथि घटेर आठ रात र नौ दिनको मात्र हुने गर्छ । तिथिको घटबढका कारण आठ राता र नौ दिनको नवरात्र हुने समयमा खोपेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताPए ।
आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १९ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ ।
असोज १९ गते देवी विसर्जनको साइत बिहान १० : ३४ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ : ५१ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।
विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।
आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । यस वर्ष असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।
बढ्न थाले थात थलो फर्कने यात्री
रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका व्यक्ति दसैंको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसैंलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ । काठमाडौँ उपत्यका बाहिर जाने यात्री आजैदेखि बढ्ने गर्छन् । नयाँबसपार्क, कलङ्कीलगायत स्थानमा काठमाडौँ उपत्यका बाहिरिनेको भीड देखिन्छ ।
धेरैजसो शैक्षिक संस्थाले दसैंका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिएका छन् । शैक्षिक संस्था बिदा भएसँगै विद्यार्थी, शिक्षक, प्राध्यापकलगायत आजैदेखि आ–आफ्ना घर जान्छन् । देश विदेशबाट गाउँ फर्कनेहरु बढ्न थालेसँगै देशका ग्रामीण भेगमा पनि बडादसैंको चहलपहल सुरु हुन्छ ।

