निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी सगै मतदाता नामावली संकलन स्थगित
काठमाडौँ, १९ साउन – निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने आश्वासन दिएका छन् । तर उनीहरुले समानुपातिक निर्वाचन पद्धतितर्फ मात्र मतदान गर्न पाउनेछन् ।
बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यो विषयलाई आयोगले गम्भीरतापूवक लिएको छ । सम्भवत यो माग पूरा हुन्छ, हामी यसलाई व्यवस्थापन गर्ने तयारीमा छौं ।’
स्थानीय तह निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीले मतदान गर्न पाएका थिएनन् । तर त्यसपछि एक रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो ।
त्यस्तै गरि निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनाव ४ मंसिरमा गर्ने निर्णय गरेको छ । लगतै पत्रकार सम्मेलन गरेको निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरिएको जानकारी दिएको छ ।
आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार अनलाइन फारम गरेर औंठा छाप र फोटो खिच्ने मिति निर्धारण भइसकेकाहरुको हकमा भने साउन २१ गतेसम्म समय दिइनेछ ।
३० वैशाखमा भएको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । पछिल्लो पटक आयोगले १ असारदेखि फेरि मतदाता नामावली संकलन गरेको थियो । यो अवधिमा झण्डै ५ लाख मतदाता थपिएको आयोगको आंकलन छ ।

