बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री सहित १३ मन्त्रीको शपथ ग्रहण आज हुँदै
काठमाडौँ, ९ साउन – बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १३ मन्त्रीको शपथ ग्रहण आज (बुधबार) हुँदैछ। मंगलबार मुख्यमन्त्रीमा नियुक्ति भएका लामाको शपथ आज हुन लागेको हो। यससँगै एमालेका र कांग्रेसबाट १३ सदस्य मन्त्रिपरिषद् समेत आजै गठन हुने छ। जसका लागि एमालेले आफ्नो भागमा परेका ६ वटा मन्त्रालय र मन्त्रीहरुको नाम मंगलबार नै टुङ्ग्याइसकेको छ।
एमालेले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास, शुकमाया तामाङलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन, कुमार मास्केलाई भौतिक पूर्वाधार, कृष्ण सिलवाललाई वन तथा वातावरण र प्रेमभक्त महर्जनर्ला श्रम रोजगार तथा यातायातमन्त्री बनाउने तयारी गरेको छ। नेपाली कांग्रेसको भागमा मुख्यमन्त्रीसहित सातवटा मन्त्रालय परेको छ। काङ्ग्रेसले भने मङ्गलबार मध्यरातमा आफ्ना मन्त्रीहरूको नाम टुङ्गो लगाए पनि हालसम्म नाम सार्वजनिक गरेको छैन।