भारतले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधनमा भोली शनिबार राष्ट्रिय शोक मनाउने
काठमाडौं, २४ असार – भारतले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधनमा भोली शनिबार राष्ट्रिय शोक मनाउने भएको छ। दिवंगत आवेको सम्मानमा भारत सरकारले राष्ट्रिय शोक मनाउन लागेको हो। भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै आवेको उच्च सम्मान गर्दै राष्ट्रिय शोक मनाउने बताएका छन्।
आवेले जापान र भारतबीचको राजनीतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए। जापानको स्थानीय नारा शहरमा एक चुनावी सभामा मन्तव्य दिँदादिँदै शुक्रबार बिहान उनीमाथि गोली प्रहार भएको थियो।
गम्भीर घाइते आवेलाई तत्कालै अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको शुक्रबार दिउँसो निधन भएको हो। आवे जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा सेवा गरेका राजनीतिज्ञ हुन्। उनी सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्म दुईपटक प्रधानमन्त्री बनेका थिए।

