मनसुन देशभरि फैलिन अझै केही दिन लाग्ने
काठमाडौं, ६ असार – मनसुन देशभरि फैलिन अझै केही दिन लाग्ने जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ। गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभरि फैलिन अझै २–३ दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।
पौडेलका अनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ। अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तरप्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ।
सामान्यतया नेपालमा मनसुन जुन १३ मा भित्रिने भए पनि यस वर्ष सो समयभन्दा एक साताअगाडि नै अर्थात् जुन ५ मै मनसुन प्रवेश गरेको छ। नेपालमा साधारणतयाः जुनदेखि सेप्टेम्बरसम्मलाई मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वर्षभरि पर्ने पानीको ८० प्रतिशत पानी पर्छ।

