काठमाडौँ महानगरपालिकामा झण्डै ३६ घण्टाको अवधिमा ९ हजार मतपत्रको गणना
काठमाडौं, १ जेठ – काठमाडौँ महानगरपालिकामा झण्डै ३६ घण्टाको अवधिमा ९ हजार मत गनिएको छ। शनिबार बिहान ९ बजेदेखि आइतबार बेलुकी ८ सम्म काठमाडौँमा ९ हजार २५० मतपत्रको गणना भएको छ।
वैशाख ३० गते सम्पन्न निर्वाचनमा १ लाख ८९ हजार ४२० मत खसेको थियो। काठमाडौँमा ३ लाख २४२ मतदाता छन्। जसमध्ये १ लाख ४४ हजार ३६३ पुरुष र १ लाख ५५ हजार ८७८ महिला मतदाता रहेका छन्।
पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन्। उनी ३ हजार ९३१ मतका साथ पहिलो स्थानमा छन्।
उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले २ हजार ६९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छन्। उनले १ हजार ८५८ मत ल्याएकी छन्। काठमाडौँका १, २, ३, ४, ३१ र ३२ नम्बर वडामा खसेको मतपत्रको गणना चलिरहेको छ।

