गृहमन्त्री बालकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी
काठमाडौं, २२ वैशाख – गृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ ।
तिलोत्तमा नगरपालिका–२ का दिपेश कँडेलले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार (आज) उजुरी दर्ता गराएका हुन् । गृहमन्त्री खाणले निर्वाचन आचारसंहिता विपरित रुपन्देहीको तिलोत्तमामा विभिन्न चुनावी अभियानमा सहभागी भएको उजुरीमा उल्लेख छ ।
गृहमन्त्रीको हैसियतमा सरकारी गाडी प्रयोग गरी खाण तिलोत्तमा नगरपालिका–८ मा काँग्रेसको घरदैलोमा सहभागी भएका थिए । बुधबार तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा उनी घरदैलोमा सहभागी भएका हुन् ।
उम्मेदवार वा कुनै राजनीतिक दलको चुनाव प्रचारमा संघ वा प्रदेश सरकारका मन्त्री वा स्थानीय सरकारका जनप्रतिनिधि सहभागी हुन आचारसंहिताले रोक लगाएको छ । आचारसंहिता विपरित गृहमन्त्री कांग्रेसको चुनावी कार्यक्रममा सहभागी भएका थिए ।
यस्तै कांग्रेस उम्मेदवार खाणले निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको भन्दै उजुरी परेको हो । आचारसंहिता विपरित उम्मेदवार खाणको प्रचार सामग्री योगीकुटी सडक किनारमा राखिएको थियो ।

