तत्कालै माओवादीसँग पार्टी एकता हुदैन : माधवकुमार नेपाल
काठमाडौँ, ११ पुस – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी माओवादी केन्द्रमा विलिन नहुने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ढिलोचाँडो माधव नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुने बताइरहँदा नेता नेपालले भने तत्कालै माओवादीसँग पार्टी एकता नहुने बताएका हुन्।
शनिबार दाङको भालुवाङमा आयोजित पार्टीको लुम्बिनी प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘अहिले कतिपयले एकीकृत समाजवादीलाई माओवादीमा विलय हुन लागेको भनेर आरोप लगाउने गरेका छन्। त्यो कुरामा सत्यता छैन।’
नेता नेपालले पुस १३ गते भने समाजवादीले स–साना वामपन्थी पार्टीसँग एकता गर्ने घोषणा गरे। पाँच दलीय गठबन्धले राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर चुनाव लड्ने नेपालले बताए। ‘यो गठबन्धन स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जान्छ,’ उनले भने।
शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने एकीकृत समाजवादीसँग एकता हुने सम्भावना औंल्याएका थिए। सम्पादकहरूसँग छलफल प्रचण्डले भने, ‘माधव नेपालसँग हामी ढिलो चाँडो एक ठाउमा हुन्छौँ। ‘हामी यसअघि पनि आफैँ छुट्टिएको होइन।’

