संघीय संसदमा देखिएको अवरोध हटाउने हो भने सभामुखले राजीनामा दिनुृपर्छ : एमाले

काठमाडौँ, २ पुस – नेकपा एमालेले अहिले संघीय संसदमा देखिएको अवरोध हटाउने हो भने सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने अडान सार्वजनिक गरेको छ।

यसै साता सकिएको एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका निर्णयहरु शुक्रबार सार्वजनिक गर्ने क्रममा महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन्।

‘संसदमा केही महिनादेखि जारी गतिरोधसँग जोडिएका विषयमा हामीले आफ्ना कुरा पहिले नै राखेका छौँ’, उनले भने, ‘हामीले कारबाही गरेका १४ सांसदबारे अदालतमा मुद्दा पनि चलिरहेको छ। हामीले कारबाही गरेका सांसद राखेर संसद चलाइएको छ, त्यसलाई हामी स्वीकार्दैनौँ।’

उनले एमालेले कारबाही गरेका सांसदहरुबारे भएको निर्णयबाट सभामुख पछि हट्न नसक्ने हो भने सभामुख सापकोटाले राजीनामा दिनुपर्ने उनले बताएका छन्।

‘यदि हामीले गरेको कारबाहीलाई सदर नगर्ने निर्णयबाट सभामुख पछि हट्न नसक्ने हो भने उहाँले संसद चलाउन मार्ग प्रशस्त गरेर राजीनामा दिनुपर्छ’, उनले भने, ‘सभामुखले कमजोरी नसच्याएसम्म संसद अघि बढ्न सक्दैन। अवरोध जारी रहन्छ।’ उनले एमालेबाट कारबाही गरिएका सांसदहरुबारेको मुद्दामा सर्वोच्चले पनि निर्णय नदिएको बताए।

‘यसबारेमा न सर्वोच्च अदालतले फैसला गरेको छ न सभामुखले गल्ती सच्याएका छन्’, उनले भने, ‘संसद खुलाउने हो भने एमालेका लागि प्राथमिक विषय सत्ता पक्षले यसमा भूमिका खेल्नुपर्छ। सत्ता पक्षले सभामुखलाई गल्ती सच्याउन भन्न सक्नुपर्छ।’

Facebook Comments Box