कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य स्थगित
काठमाडौं, १६ वैशाख – सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते आज देखि स्थगित गर्ने निणर्य गरेको हो ।
काठमाडौंमा खोप निरन्तर संचालन गर्ने भनिएकोमा अब खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निणर्य भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिएनु भएको छ ।
जारी सूचनामा भेरोसेल खोप लगाउने कार्य किन स्थगित गर्नुपर्नाको कारण भने उल्लेख गरिएको छैन । यद्यपि यो खोप लगाउने स्थानमा भएको अव्यवस्थित भीडभाडले संक्रमणको जोखिम बढाएको थियो ।
भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो । दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन शुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको होे ।
नेपालमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप पनि प्रयोग हुँदै आएको छ । कोभिसिल्ड खोपको १० लाख डोज भारतले अनुदानमा दिएपछि गत माघ १४ गतेबाट खोप अभियान शुरु भएको थियो ।