जनकपुरधाम–अयोध्या साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतको स्वीकृति

काठमाडौं । भारतले नेपालको जनकपुरधाम र उत्तर प्रदेशको अयोध्यालाई जोड्ने साप्ताहिक रेल सेवा सञ्चालन गर्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आगामी मंसिर ६ गतेदेखि हुने भनिएको भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय रेल मन्त्रालयले शनिबार रेल सेवा सञ्चालनको प्रस्तावलाई स्वीकृति दिएको हो ।

स्वीकृत योजनाअनुसार जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म करिब ६ सय ४ किलोमिटर दूरीमा रेल सञ्चालन हुनेछ । रेल प्रत्येक शनिबार जनकपुरधामबाट प्रस्थान गर्नेछ भने सोमबार अयोध्या क्यान्टबाट जनकपुरधामका लागि छुट्नेछ । रेलले जयगनर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा बिसौनी गर्नेछ ।

भारतीय रेल मन्त्रालयका अनुसार भगवान् रामको जन्मस्थलका रूपमा परिचित अयोध्या र माता सीताको जन्मस्थल जनकपुरधामलाई रेलमार्गबाट जोड्दा धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ । यसले दुवै तीर्थस्थलको दर्शन गर्न जाने यात्रु तथा पर्यटकलाई आवतजावतमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

रेल सेवा सञ्चालनमा आएपछि शिक्षा, व्यापार र पारिवारिक प्रयोजनका लागि नेपाल–भारत आवतजावत गर्ने यात्रुलाई पनि लाभ पुग्ने भारतीय पक्षको विश्वास छ । साथै, रेलमार्ग आसपासका होटल, पर्यटन व्यवसाय, स्थानीय व्यापार तथा हस्तकलासँग सम्बन्धित व्यवसायले समेत लाभ लिन सक्ने जनाइएको छ ।

भारतीय रेल मन्त्रालयका अनुसार रेल सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय विषयमा दुवै देशका अधिकारीबीच छलफल भइसकेको छ । यसअघि पनि नेपाल र भारतबीच जनकपुर–अयोध्या रेल सेवा सञ्चालनलगायत सीमापार रेल सञ्जाल विस्तारका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका बेला दुई देशबीचको धार्मिक पर्यटन र यातायात सम्पर्क विस्तारको विषयले थप महत्त्व पाउने अपेक्षा गरिएको छ ।

Facebook Comments Box