गाजाका बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन ईयूको इजरायलसँग आग्रह

काठमाडौं । युरोपेली संघ (ईयू) ले गाजामा भारी वर्षा र बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन इजरायलसँग आग्रह गरेको छ । ईयूले शनिबार मानवीय सहायता तथा राहत संस्थाहरूलाई कुनै अवरोधबिना गाजामा प्रवेश गर्न दिन इजरायलसँग माग गरेको हो । राहत सामग्रीसँगै अस्थायी आवास मर्मतका लागि आवश्यक सामग्रीसमेत गाजामा पुर्‍याउन अनुमति दिनुपर्ने ईयूको भनाइ छ ।

संघले गाजाका सबै सीमा नाका पुनः खोल्नसमेत आग्रह गरेको छ । विभिन्न प्रतिवेदनका अनुसार भारी वर्षा र बाढीका कारण गाजामा करिब ७० हजार टेन्ट डुबानमा परेका छन् । ती टेन्टमा करिब २० लाख जनसंख्याको ठूलो हिस्सा आश्रित रहेको बताइएको छ । बाढीका कारण विस्थापित नागरिकलाई स्वच्छ खानेपानी, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव भएको छ । यसले पहिले नै कठिन मानवीय अवस्थाबाट गुज्रिरहेका गाजाका नागरिकको समस्या थप गम्भीर बनाएको छ ।

Facebook Comments Box