छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
काठमाडौं । चार दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको छठ पर्व सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ । यस पर्वमा सूर्यदेव र षष्ठी माताको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि र सन्तानको कल्याणको कामना गर्ने धार्मिक परम्परा छ ।
पौराणिक मान्यताअनुसार महाभारतकालमा द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए । त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले पहिलोपटक छठ व्रत गरेको उल्लेख छ । सूर्यको आराधनाबाट कुष्ठरोगबाट मुक्ति पाएको साम्बको कथासमेत पुराणमा वर्णन गरिएको छ ।
छठ पर्वको पहिलो दिन चतुर्थीमा स्नान गरी शुद्ध भोजन गर्ने र दोस्रो दिन पञ्चमीमा खरना विधि गरिन्छ । खरनामा सखरको खीर षष्ठी मातालाई चढाएर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ । त्यसपछि बर्तालु निराहार व्रत बस्छन् । आज षष्ठीका दिन दिनभर निराहार व्रत बसेका बर्तालुले साँझ नदी, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् । रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन हुनेछ ।
यसैबीच, छठ पर्वका लागि काठमाडौं उपत्यकाका गुह्येश्वरी–गौरीघाट, गहनापोखरी, नागपोखरी, कमलपोखरी तथा वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा सजावट गरिएको छ । २०४६ सालअघि तराईका सीमित क्षेत्रमा मनाइने छठ पर्व अहिले राष्ट्रिय पर्वका रूपमा स्थापित भएको छ । यस अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिँदै आएको छ ।

