छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै
काठमाडौँ । सूर्यदेवको उपासना गरी श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आज खरना विधि मनाइँदै छ । चार दिनसम्म मनाइने छठ पर्वको खरना विधिअन्तर्गत व्रतालुहरूले दिनभर उपवास बसेर साँझ चामल, सक्खर र दूधबाट तयार पारिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ । उक्त प्रसाद परिवारका सदस्यलाई खुवाउनुका साथै अन्य घरपरिवारमा समेत वितरण गर्ने चलन रहेको छ ।
सन्तानको सुख, परिवारको समृद्धि र कल्याणको कामना गर्दै मनाइने छठ पर्व शुक्रबार नहाय–खाय विधिबाट सुरु भएको हो । पहिलो दिन व्रतालुहरूले स्नान गरी चोखो भोजन गरेका थिए । पर्वको मुख्य दिन भोलि आइतबार अस्ताउँदो सूर्यलाई जलाशय तथा नदी किनारका घाटमा पुगेर अर्घ्य दिइनेछ । यसलाई सौझकारक भनिन्छ । त्यसैगरी सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् समापन हुनेछ ।
छठमा बाँसका ढाकी, डग्री, माटाका कोसिया, कुरबारलगायत सामग्रीमा ठकुवा, भुसुवा, केरा, उखु, अदुवा, बेसार तथा विभिन्न फलफूल र मिठाई राखेर सूर्यदेवलाई अर्पण गर्ने परम्परा छ । यस पर्वमा व्रतालुहरूले कठोर नियम पालना गर्दै अन्तिम अर्घ्यसम्म करिब ४८ घण्टासम्म निर्जला उपवास बस्ने धार्मिक मान्यता रहेको छ । छठ पर्वको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदासमेत दिएको छ ।

