हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ – देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका साथै उपत्यका र खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

Facebook Comments Box