आज विश्व मधुमेह दिवस, रोकथाम र समयमै पहिचानमा जोड

काठमाडौँ । आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । मधुमेह रोगबारे जनचेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा न्यून तथा मध्यम आय भएका देशमा मधुमेहको समस्या तीव्र गतिमा बढिरहेको छ । बढी तौल र मोटोपना यसका प्रमुख जोखिममध्ये रहेका छन् ।

मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो । स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम र सुर्तीजन्य पदार्थको सेवन नगर्दा टाइप–२ मधुमेहको जोखिम कम गर्न सकिने चिकित्सकहरू बताउँछन् । समयमै रोग पहिचान, नियमित स्वास्थ्य परीक्षण र उचित उपचारबाट मधुमेहका गम्भीर जटिलता रोक्न तथा न्यूनीकरण गर्न सकिन्छ ।

मधुमेह रोग विशेषज्ञ डा. विनय भट्टराईका अनुसार मोटोपना भएका, परिवारमा मधुमेहको इतिहास भएका तथा कोलेस्ट्रोल उच्च भएका व्यक्तिले नियमित परीक्षण गराउनुपर्छ । उहाँले ३५ वर्ष उमेर पुगेपछि सबैले नियमित रूपमा मधुमेह परीक्षण गराउनु उचित हुने बताउनुभएको छ ।

टाइप–१ मधुमेह छिटो विकसित हुन सक्ने भए पनि टाइप–२ मधुमेह विस्तारै विकास हुने र सुरुवाती अवस्थामा स्पष्ट लक्षण नदेखिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक मानिन्छ । चिकित्सकहरूले मधुमेहबाट बच्न र यसको जोखिम कम गर्न स्वस्थ जीवनशैली अपनाउन तथा रोग देखिएमा नियमित उपचार गर्न सुझाव दिएका छन् ।

Facebook Comments Box